१० साउन ०७४, काठमाडौं । कोरियन भाषा परीक्षाको नतिजा आज प्रकाशित भएको छ । भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तिर्ण भएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको परीक्षामा ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए ।
ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले दिएको जानकारी अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।
भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।