१४ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ महिला र १० जना पुरुष गरी थप १४ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले राष्ट्रिय अद्यावधिक विवरणबारे जानकारी दिँदै थप १४ जना कोरोना संक्रमितको निधन भएको र योसँगै मृत्यु हुने संक्रमितको संख्या कूल २२१ पुगेको बताएका हुन् ।
प्रवक्ता गौतमले मृत्यु हुने ४ जना महिलाहरुमा सुनसरीको ७४ वर्षीया महिला, बारा ४७ वर्षीया महिला, महोत्तरी ६२ वर्षीया महिला र काठमाडौंको ७२ वर्षीया महिला रहेको बताए ।
यस्तै मृत्य हुने १० जना पुरुषहरुमा सुनसरीको ६० वर्षीय पुरुष, मोरङ ६२ वर्षीय पुरुष, महोत्तरीको ७० र ३५ वर्षीय दुई पुरुष, रौतहटको ३० वर्षीय पुरुष, ललितपुरको २९ वर्षीय पुरुष, भक्तपुरको ६५ वर्षीय पुरुष, नवलपरासीको ६२ वर्षीय पुरुष साथै रुपन्देहीको ५७ र ६७ वर्षीय दुई पुरुष रहेको जानकारी दिए ।
एक हजार २२१ संक्रमित थपिए
यसैगरी प्रवक्ता गौतमले पछिल्लो चौबीस घण्टामा एक हजार २२१ संक्रमित थपिएको जानकारी दिँदै कूल संक्रमित संख्या ३८ हजार ५६१ पुगेको बताए ।
उनले हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको बताए । साथै, पछिल्लो चौबीस घण्टामा २६७ जना संक्रमित निको भएको र हालसम्म निको हुनेको कूल संख्या २० हजार ८२२ पुगको उनले बताए ।