क्रान्ति र शान्तिमा बितेको जीवन अब आर्थिक क्रान्तिमा लगाउने छु : प्रचण्ड

१० असोज ०७९, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको जीवन आर्थिक क्रान्तिमा लगाउने बताएका छन् ।

आइतबार चितवनको लम्जुङचोकमा सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

“अबको आवश्यकता आर्थिक विकास र समृद्धि हो,” उनले भने, “म ४० वर्षपछि यहाँहरुको काखमा आएको छु, तपाईहरुको सुख दुःखमा साथ दिनेछु शिवनगरको १४ नम्बर वडाबाट बसाईसराई गरी भरतपुर त्यहाँबाट बसाई गरी काठमाडौ, त्यहाँबाट रोल्पा रुकुम हुँदै शान्ति प्रक्रियामा आएँ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मैले शान्ति सम्झौतामा हस्ताक्षर गरी सकेपछि संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र र त्यसबाट नयाँ समावेशी संविधान बनाइसकेपछि दोस्रो तहको स्थानीय निर्वाचन पनि सम्पन्न भई प्रदेश र संघको निर्वाचन हुने तयारीका क्रममा तपाईहरुकै काखमा फर्केको छु ।”

यो अवधिमा यस क्षेत्रमा धेरै विकासका योजनाहरु आएको भन्दै उनले अझै अरबौंका मात्रै नभएर खरबौंको विकास योजनाहरु ल्याएर विकासले गति लिने पनि बताए ।