क्वारेन्टाईनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकूल बनाइने

२४ चैत ०७६, काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाईनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुकूलको बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

क्वारेन्टाईनमा १४ दिन बसेकाहरु बिना परीक्षण घर गएपछि संक्रमण देखिएको भन्दै क्वारेन्टाईनमा बसेकको अनिवार्य स्वाब परीक्षण गरेर मात्रै घर जान दिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

यस्तै बैठकले ग्रामिण स्वास्थ्य स्वंयम् सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने निर्णय समेत गरेको छ ।

बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता र बीमासहितको व्यवस्था गरेर स्थानीय तहमा परिचालन गर्ने निर्णय गरेको छ ।

सचिव बिडारीले राहत वितरणको वर्तमान मापदण्ड परिमार्जन हुने बताए । उनले राहत वितरणका लागि छुट्टै कार्यविधि बनाई राहत वितरण टोली धेरै बनाउने र टोलीमा संख्या कम गर्ने गरी व्यवस्था मिलाइने जानकारी दिए ।

यस्तै बैठकले कोरोना उपचारका लागि स्वास्थ्य परीक्षण सामाग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनको व्यवस्थामै टेकेर सरकार–सरकार बीच (जी टू जी), सोझै खरिद गर्ने, निजी र प्रतिस्पर्धाबाट खरिद गरिने विषयलाई आवश्यक स्पष्ट पारिएको उनले बताए ।