खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रममा स्थानीय र प्रहरीबीच झडप

२० असार ०७७, ललितपुर । सरकारले विकासका नाममा पुर्ख्यौली जग्गाजमिन अधिग्रहण गरेको भन्दै खनजोत गर्न गएका खोकनाका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेर जमिन खनजोत गर्न रोक लगाएपछि खोकनावासीले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम गर्नेक्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

सरकारले काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी गरेको छ । तर, स्थानीयवासीले विकासका नाममा सांस्कृतिक सम्पदामाथि अतिक्रमण गरेको भन्दै लामो समयदेखि विरोध गर्दै आइरहेका छन् ।

नागरिक आवाजका संयोजक असोज महर्जनले नेवाः सम्पदा तथा संस्कृति मास्ने गरी विकासका नाममा नगरलालाई ध्वस्त गर्न थालिएपछि स्थानीयहरु सरकारी नीतिविरुद्ध आन्दोलनमा उत्रिएको बताए ।

संयोजक महर्जनले खोकनाबासीमाथि भएको अन्यायविरुद्ध अन्तिमसम्म लड्ने बताए । साथै, उनले सरकारलाई राष्ट्रघाती अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न र भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सुझाए ।