खलासीले ठूलो भीडलाई बसभित्र मिलाएर राख्छ, अब देश चलाउन त्यस्तै ‘खलासी’को आवश्यकता छ – आचार्य

१२ मंसिर, काठमाडौं । साझाको ३० वटा नयाँ बस उदघाटन गर्ने कार्यक्रममा वक्ताका रुपमा निम्त्याइएका मह (मदनकृष्ण-हरिवंश) जोडीले साझा यातायातको सफलताको कामना गर्दै प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरुप्रति तिखो ब्यङ्ग्य प्रहार गरेका छन् ।

m-h

कलाकार मदनकृष्णले साझा बस बन्दमा पनि गुड्ने भएकाले राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई ढुंगा नहान्न अपील गरे । उनले आफूले १० पैसादेखि चढेको साझा बसको भाडा १५ रुपैयाँसम्म पुगेको बताउँदै यो भन्दा नबढ्ने वातावरण बनाउन आग्रह गरे ।

यसैगरी कलाकार हरिवंश आचार्यले साझा बसले पञ्चायत, बहुदल र गणतन्त्र भोगेको बताउँदै ‘अर्को व्यवस्था भोग्नु नपरोस्’ भन्ने विचार व्यक्त गरेका थिए ।

आचार्यले ५ सय वटा साझा बस देशभरि चल्नुपर्ने भन्दै उनले चित्रबहादुर केसी माइक्रोबाट लडेको उदाहरण दिँदै अरु नेताले त्यसबाट सिक्नुपर्ने बताए ।

‘चित्रबहादुर केसी जी माइक्रोबाट लडेर घाइते हुनुभयो । उहाँ घाइते भएको खबर फेसबुकभरी भाइरल छ,’ हरिवंशले ब्यङ्ग्य कस्दै भने, ‘अब कांग्रेस, एमाले र माओवादीका नेता पनि माइक्रोबाट लड्नुपर्‍यो । पजेरोबाट लड्दा जनता खुसी हुँदैनन् । जनता खुसी बनाउन बसबाटै लड्नुपर्छ ।’

उनले सबै ठूला पार्टीले देश चलाइसकेको बताउँदै अब ‘खलासी’ले देश चलाउनुपर्ने बताए । ‘खलासीले ठूलो भीडलाई पनि बसभित्र कसरी मज्जाले मिलाएर राख्छ, सबै जातजाति, भाषभाषी, क्षेत्र र वर्गका मान्छे गज्जबले मिलेर बस्छन्,’ आचार्यले भने, ‘हो अब देश चलाउन त्यस्तै ‘खलासी’ को आवश्यकता छ ।’

यसैगरी आचार्यले नेताहरुले विकासका कामका लागि सिन्को नभाँचेकोप्रति ब्यङ्ग्य कस्दै काठमाडौंको सडकमा अब गुड्ने नभइ उड्ने बस ल्याउन आग्रह गरे । ‘बाटोको हालत देखेकै छौं, भुटान बाहेक दक्षिण एसियाका सबै देशमा फ्लाइ ओभर बनिसके, हामीले फ्लाइओभर बनाउन सकेनौं,’ आचार्यले भने, ‘यही पारामा काम भइरह्यो भने त अब साझाले गुड्नेभन्दा पनि उड्ने बस पो ल्याउनुपर्छ होला ।’

मह जोडीको तिखो ब्यङ्ग्य पछि प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनको क्रममा आफू ‘खलासी’ नै भएको बताएका छन । ‘मह जोडीले सरकार र पार्टीहरुलाई खलासी भन्नुभो मैले के ठानेको छु भने म अहिले खलासी नै छु ।’

संविधान संशोधनको प्रयासतर्फ संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बल गरिरहेको छु कि सबै मिलेर बसौं । तपाईहरुले पनि मिलेर बस्न सहयोग गर्नुस् ।’

तपाइको मत