९ असाेज ०७४, जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खस भाषा विश्वस्तरमा चिनाउने उद्देश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउने काम अघि बढेको बताएका छन् ।
आइतबार जुम्लाको सिन्जा उपत्यकामा आयोजित जनसभामा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
‘जुम्ला र खासगरी सिन्जा उपत्यका खस भाषा र खस सभ्यताको केन्द्र हो’ प्रचण्डले भनेका छन्, ‘म प्रधानमन्त्री भएको बेला खस भाषा र संस्कृतिको अध्ययन, अनुसन्धान र विश्वस्तरमा चिनाउने उद्देश्यले खस भाषा, संस्कृति प्रतिष्ठान बनाउन खोजिएको थियो । तर, सोचेजति प्रगति भएको छैन् । काम अघि बढेको छ ।’
‘खस भाषा, संस्कृतिको उत्थान र विकासका लागि खस प्रतिष्ठान र सङ्ग्रहालय बनाउन मेरो पूरै पहल हुनेछ, जुम्लालाई विश्वमा चिनाउन मेरो साथ हुनेछ ।’ प्रचण्डले भनेका छन् ।
माओवादीको दवाव र सङ्घर्षले ७ प्रदेश
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरुको दबाब र सङ्घर्षले मात्र ७ प्रदेश बनेकोे बताएका छन् ।
‘हामी १४ वा १० प्रदेशको पक्षमा थियौं, कांग्रेस एमालेका नेताहरु पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउन खोज्दै थिए । तर, हामीले सङ्घर्ष गरेर सात प्रदेश बनायौं ।’ प्रचण्डले भने, ‘कर्णालीलाई नयाँ प्रदेश बनाउनु पर्ने हाम्रो निरन्तरको दवाव र सङ्घर्षले मात्र अहिलेको ६ नम्वर प्रदेश बनेको हो ।’
कर्णालीको विकास माओवादीको प्राथमिकतामा भएको बताउँदै प्रचण्डले भने, ‘कर्णाली विकास आयोग हामीले नै बनायौं, कर्णाली प्रदेश हामीले नै बनायौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हामीले नै बनायौं । नाग्चे लाग्ना नाका खोल्न चीनसँग कुटनीतिक पहल गरिरहेको छु । नाग्मा गम्गडी सडक कालोपत्रे गरिनेछ ।’
उनले जनसभालाई सम्बोधन गर्ने क्रममा कर्णालीको स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिने समेत बताए ।
७५० कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
कार्यक्रममा जुल्लाका लोकप्रिय नेता पूर्णप्रसाद धितालको नेतृत्वमा ७५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा लडेका धितालले दोस्रो स्थान हासिल गरेका थिए ।
पर्टी प्रवेशसँगै धिताललाई माओवादी केन्द्रले प्रदेश सभाको उम्मेद्वार बनाउने घोषणा समेत गरेको छ ।