३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काले एमाले विभाजनमा आफ्नो प्रमुख हात रहेको र वामदेव गौतम प्रमुख साक्षीको रुपमा रहेको भन्दै दिएको अभिव्यक्तिप्रति नेता गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।
पूर्व उपप्रधान तथा गृह मन्त्री तथा नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमको यस्तो छ विज्ञप्तिको पूर्ण पाठः
नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुम वहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।
खुमवहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।
विभाजन पछि काँग्रेस सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमवहादुरसँग भेट भने भएको थियो । उनले मलाई त्यसबेलाका आइ.जि.पी. अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुप¥यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो ।
नेकपा(माले) संचालनका लागि खुमवहादुर गिरीजा प्रसाद कोइरालाबाट वा उनिहरु नजिकका व्यवसायी वा अन्य कुनै काँग्रेसका कारण मैले एक रुपैया पनि सहयोग वा अन्य चन्दा स्वरुप पनि लिएको थिइन । त्यसबेला सहयोग गर्ने व्यक्तिहरु अहिले पनि जिवीत छन् र उनिहरु अहिले सबै एमाले पार्टी भित्र वा एमालेकै शुभचिन्तक भएर रहेका छन् ।
वामदेव गौतम
पूर्व उपप्रधान तथा गृह मन्त्री
तथा
उपाध्यक्ष, नेकपा (एमाले)