१६ असार, काठमाडौँ । एक दशकदेखि नेपालमा छलफल हुँदै आएको खुला विश्वविद्यालय विधेयक व्यवस्थापिका संसदबाट पारित भएपछि भौगोलिक विकटता र दैनिक कार्यव्यस्तताले कसैले पनि विश्वविद्यालयको डिग्री हासिल गर्न अब बञ्चित हुन नपर्ने भएको छ ।
बिहीबार नेपाल खुला विश्वविद्यालय विधेयक बहुमतले संसदबाट पारित गरेपछि आफू बसेको ठाउँबाटै विश्वविद्यालयको डिग्री हासिल गर्न सकिने ढोका खुलेको हो ।
संसदबाट पारित भएपछि नेपालमा विश्वविद्यालयको संख्या पनि १० वटा पुगेको छ । खुला विश्वविद्यालयको अवधारणा लागू हुँदा विदेशमा रहेका लाखौ श्रमिकले त्यही बसेर नेपाली पाठयक्रममा डिग्री हासिल गर्न पाउने छन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलकाअनुसार संसारभर छरिएका नेपाली श्रमिकको शिक्षामा पहुँच हुनेछ । उनीहरुको प्रतिभा, क्षमता, अनुभव र पुँजी नेपालसँग जोडिनेछ ।
नेपालमा भन्दा ३३ बर्ष अगाडि खुला विश्वविद्यालयको अवधारणा लागू गराइएको भारतमा अम्बेडकर र इन्दिरा गान्धी खुला विश्वविद्यालयमा लाखौ बिद्यार्थीले अध्ययन गरिरहेका छन् । भारतमा सन १९८२, बेलायतमा सन् १९७०, बंगलादेशमा १९८५, माल्दिभ्स १९९९, श्रीलंकामा १९८०, पाकिस्तानमा १९७४ मा खुला विश्वविद्यालय सञ्चालनमा आएका हुन ।
संविधानको धारा २९६ को उपधारा १ बमोजिम संसदले बिहीबार विधेयक पारित गरेको हो । राष्ट्रपतिबाट प्रमाणिकरण भएको ९१ दिनपछि ऐनको रुपमा लागू हुनेछ ।