खेम ओझा स्मृति प्रतिष्ठानद्वारा पुरस्कार स्थापनाको घोषणा

२२ साउन ०७४, काठमाडौं । खेम ओझा स्मृति प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद ओझाले ‘खेम ओझा स्मृति प्रतिष्ठान’ले पुरस्कार स्थापनाको घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ओझाले साहित्य, कला र संगीतका क्षेत्रमा विभिन्न चारवटा पुरस्कारको घोषणा गरेका हुन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष निलमकुमार ओझाले प्रतिष्ठानले पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेर सामाजिक, सांस्कृतिक, शैक्षिक, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष कार्य गर्ने उद्देश्य राखेको बताए ।

अध्यक्ष ओझाले साहित्यतर्फ १० हजार रुपैयाँ राशिको पाण्डुलिपि पुरस्कार एक जनालाई, पाँच हजार राशिको उत्कृष्ट साहित्कि कृति पुरस्कार एक जनालाई दिइने जानकारी दिए ।

यसरी नै चित्रकला, नृत्यकला र मूर्तिकलालाई समेट्ने गरी पाँच हजार रुपैयाँ राशिको कला पुरस्कार एक जनालाई र संगीत, गायन र गीत रचनातर्फ एक जनालाई पाँच हजार रुपैयाँ राशिको संगीत पुरस्कार दिइने घोषणा पनि गरिएको छ ।

साहित्यकार प्राज्ञ वियोगी बुढाथोकीले प्रतिष्ठानको उद्देश्य पूरा होस् भनी शुभकामना दिनुका साथै यस्ता कार्यहरुले अन्य व्यक्तिहरुलाई पनि नयाँ नौला काम गर्न प्रेरित गर्ने बताए ।

प्रतिष्ठानका महासचिव घनेन्द्र ओझाले खेम ओझाको व्यक्तित्वबारे परिचयात्मक मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कवि प्राज्ञ श्रवण मुकारुङले दिवङ्गत व्यक्तिहरुको सम्झनामा असल उद्देश्यले खोलिएका संस्था र यस्ता प्रतिष्ठानहरुले समाज र राष्ट्रलाई नै सकारात्मक प्रभाव दिने उल्लेख गरे । घोषित पुरस्कार आगामी वर्षदेखि दिइने महासचिव घनेन्द्र ओझाले जानकारी दिए ।

तपाइको मत