१३ साउन ०८१, काठमाडौं । आज बिहानैदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायातका सवारी साधन ठप्प छन् ।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउने तयारी गरेपछि सोको विरोधमा व्यवसायी र स्वोजगार मजदुरहरुले प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् ।
व्यवसायी र स्वरोजगार यातायात श्रमिकहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएको अखिल नेपाल यातायात मजदुर संघका गण्डकी प्रदेश अध्यक्ष सूर्यभक्त पौडेलले जानकारी दिए ।
उनले त्यसको भोलिपल्ट व्यवसायी र मजदुरले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङलाई भेटेर ध्यानाकर्षण समेत गराएको तर आफ्ना मागहरुमा सरकारले बेवास्ता गरेपछि विरोधस्वरुप सार्वजनिक यातायात नचलाइएको बताए ।