८ असोज ०७६, कास्की । गण्डकी प्रदेशलाई विश्वविद्यालय खोल्ने बाटो खुला भएको छ ।
गण्डकी प्रदेशसभाबाट बुधबार विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धी विधेयक पारित भएसँगै सो प्रदेशलाई विश्वविद्यालय खोल्ने बाटो खुला भएको हो ।
गत साउन १९ को प्रदेशसभामा प्रस्तुत विधेयक भोलिपल्टै विधायन समितिमा छलफलका लागि पठाइएको थियो । समितिमा छलफल गरी तयार पारिएको उक्त विधेयक सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबारको बैठक पेश गरेको थियो भने बहुमतबाट सो विधेयक पारित भएको छ ।
संसदको बुधबारको बैठकमा कांग्रेसले विश्वविद्यालयको विपक्षमा मतदान गरेको थियो ।
सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशभित्र दक्ष, प्राविधिक, व्यवसायिक र उद्यमशील जनशक्ति उत्पादन गर्न विश्वविद्यालय स्थापना गनुपर्ने आवश्यकता देखिएको बताए ।
प्रदेश सरकारले तनहुँ शुक्लागण्डकीको बेलचौतारामा विश्वविद्यालय खोल्ने निधो गर्दै भानुभक्त क्याम्पस र सँगै रहेको सार्वजनिक जग्गा हस्तान्तरण गर्न प्रदेशले केन्द्र सरकारसँग माग गरेको थियो । प्रदेशको मागप्रति संघीय सरकारले कुनै सम्बोधन गरेको छैन भने भानुभक्त क्याम्पस सञ्चालक समितिले विश्वविद्यालय खोल्न नदिने निर्णय नै गरेका छन् ।
प्रदेशलाई आफ्नै विश्वविद्यालय खोल्न पाउने अधिकार संविधानमै व्यवस्था छ ।














