गर्भपतनलाई निरुत्साहित गर्न ‘छोरी बचाऊ’ योजना !

३ साउन ०७५, मोरङ । बिराटनगर महानगरपालिकाले लिङ्ग पहिचान गरेर गर्भपतनलाई निरुत्साहित गर्न ‘छोरी बचाऊ’ योजना ल्याएको छ ।

उपप्रमुख इन्दिरा कार्कीले गर्भपतनलाई निरुत्साहित गर्न छोरी जन्माउनेलाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालिएको बताइन् ।

पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार र दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

उक्त रकम प्राप्तिका लागि बीस वर्ष उमेर पुगेकी आमा नेपाली नागरिक हुनुपर्ने, बच्चा स्वास्थ्य संस्थामै जन्मिएको र सात पटकसम्म स्वास्थ्य संस्थामा चेकजाँच गरेको हुनुपर्ने मापदण्ड बनाइएको उपप्रमुख कार्कीले बताइन् ।

महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गतआर्थिक बर्षमा पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३ हजार रुपैयाँका दरले रकम वितरण गरेको थियो । उक्त योजनाका लागि चालू आर्थिक बर्षलाई १० लाख रुपैयाँ छुट्याएको महानगरले गतआर्थिक वर्षमा ६ लाख रुपैयाँ छुट्याएको थियो ।

उपमेयर कार्कीले महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पनि सञ्चालनमा ल्याएको जानकारी दिँदै यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको बताइन् ।

तपाइको मत