गाजा क्षेत्रमा हिंसा फैलदा ५८ को मृत्यु, २७ सय घाइते

१ जेठ ०७५, एजेन्जी । जेरुसेलममा अमेरिकाले दूतावास खोलेको विरोधमा गाजा क्षेत्रमा फैलिएको हिंसामा कम्तीमा ५८ जनाको ज्यान गएको छ भने २७०० घाइते भएका छन् ।

प्यालेस्टाइनी अधिकारीका अनुसार इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टायन प्रदर्शनकारी र इजरायली सेनाबीच झडप भएको हो । भिडन्तमा ५८ जनाको ज्यान जानुका साथै २ हजार ७ सयभन्दा बढी घाइते भएका छन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रीका अनुसार मृत्यु हुनेमध्ये केही बालबालिका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जेमिन नेतान्याहूले आफ्नो सुरक्षाकर्मीको बचाव गर्दै आत्मरक्षाका लागि गोली चलाइएकाे दाबी गरेका छन् ।

प्यालेस्टाइनीहरूले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिए यता विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी वरिष्ठ अमेरिकी अधिकारीहरू, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी र ज्वाइँ सहभागी भएका थिए ।ट्रम्पका ज्वाइँ जरेद कुस्नरले उद्घाटन कार्यक्रममा बोल्दै ‘अमेरिकी राष्ट्रपतिले कुनै पनि वाचा गरे भने पूरा गरेरै छाड्ने’ बताए ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मायक पोम्पियोले एक विज्ञप्तिमार्फत अमेरिका अझै पनि इजरायल र प्यालेस्टाइनबीच शान्ति स्थापनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

इजरायलले प्रदशर्नकारीहरूले ढुंगा प्रहार गरेपछि कारबाही गरेको जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ३० मा जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएका थिए ।

सोमबार फ्रान्सको विदेश मन्त्रालयले  जारी गरेको विज्ञप्तिमा ‘अमेरिकी कदमले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेको’ उल्लेख छ ।

तपाइको मत