गुटबन्दी र जनविरोधी शक्तिसँग जुधेर नै कम्युनिष्ट आन्दोलनले उचाइ हासिल गरेको हो – प्रधानमन्त्री

१० बैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा हुर्किएको गुटबन्दी, अराजकता र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा जारी वक्तव्यमा यस्तो बताएका हुन् ।

वक्तव्यमा भनिएको छ, “पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो ।

उनले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने विश्वास व्यक्त समेत गरेका छन् ।

अप्रिल २२ (बैशाख १० गते), ७१ वर्ष अघि नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो भने आजैका दिन विश्वमा परिवर्तनको ऐतिहासिक नेतृत्व गर्ने व्यक्तित्व भ्लादिमिर इल्यिच ‘लेनिन’को जन्म भएको थियो ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी वक्तव्यको पूर्णपाठ:

“आज अप्रिल २२ (वैशाख १० गते), ७१ बर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आज अप्रिल २२, आजकै दिन विश्वमा दूरगामी महत्वको परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व भ्लादिमिर इल्यिच लेनिनको जन्म भएको थियो ।

यस विशेष दिनको अवसरमा म विश्व क्रान्तिका नायक, भ्ला.ई.लेनिनप्रति भावपूर्ण श्रद्धासुमन र सम्मान व्यक्त गर्दछु । पार्टी स्थापना भएको आजको विशेष दिनमा म संस्थापक महासचिव कमरेड पुष्पलालको नेतृत्व र पहलकदमीको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु ।

सात दशकको अवधिमा लेनिनले स्थापना गर्नुभएको सोभियत संघ विघटन भयो । तर लेनिनवादी सिद्धान्तको आलोकमा हुर्किएको हाम्रो नेकपा, स्थापनाको सात दशक भित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो ।

वितेका यी बर्षहरुमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आयो । अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरह्यो । पार्टीमा हुर्किएको गुटबन्दी, विभाजन र अराजकतामाथि विराम लगाउँदै एकता, पुनर्गठन र सुदृढ एकताको महान अभियानलाइ अघि बढायो । सिद्धान्तको अन्धानुकरण र यान्त्रिक प्रयोगको सट्टा सिर्जनात्मक प्रयोग मार्फत मौलिक एवम् सही विचारको विकास र अवलम्बन गर्दै सामन्ती, प्रतिगामी, निरङ्कुश र जनविरोधी शक्तिसँग जुधेर नै नेपाली कम्युनिष्ट आन्दोलनले आजको उचाइ हासिल गरेको हो । कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि हो ।

पार्टी स्थापनाको यस अवसरमा संस्थापक सदस्यहरुका साथै अग्रणी विचारकप्रति उच्च सम्मान व्यक्त गर्दछु । सात दशक लामो आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने आदरणीय सहिदहरु, निष्ठापूर्वक निरन्तर समर्पित कमरेडहरु र हसिंया हथौडाअंकित झण्डामुनि गोलबन्द भई संगठित रुपमा योगदान गर्ने न्यायप्रेमी जनसमुदायहरुको उच्च सम्मान गर्दछु ।

लेनिन जयन्ती तथा पार्टी स्थापाना दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई बर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

नेकपामाथि भरोसा गर्दै विश्वास तथा साथ–सहयोग गर्नुहुने सम्पूर्ण नेपाली जनताप्रति म हार्दिक कृतज्ञता समेत जाहेर गर्दछु ।”

१० वैशाख २०७७