४ साउन ०७४, काठमाडौं । मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका तर प्रहरी हेडक्वार्टरले एसपी बढुवाका लागि सिफारिस गरेको सन्जिव शर्मा दासलाई गृहमन्त्री जनार्दन शर्माले अनुसन्धानका लागि निलम्वन गरेका छन् ।
गृह मन्त्रालयको बढुवा समितिले विवादित व्यक्तिलाई बढुवाका लागि सिफारिस गरेको पाइएपछि गृहमन्त्री जनार्दन शर्माले एक्सन लिएका हुन् ।
गृहमन्त्री शर्माकाे पत्रपत्रिका र सामाजिक सञ्जालमा चर्काे आलोचना भएपछि गृहमन्त्रीले फेसवुकमार्फत डिएसपी दासलाई अनुसन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री शर्माले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, “सामाजिक संजाल तथा सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद ।सन्जिव शर्मा बारे थप अनुशन्धान गर्ने गरि निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउछु ।’
रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
साढे पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउत रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ परेका छन् ।