२८ भदौ ०७७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेद बीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेको राजदूत जावेदसँग गृह मन्त्रालयमा भएको बिदाई भेटवार्तामा गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा धन्यवाद व्यक्त गरेका थिए ।
यस्तै नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा समेत भएको सो भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको र नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवादसहित आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए ।
राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको बताएका थिए ।
यस्तै उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको बताएका थिए ।
राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको र त्यसका लागि नेपालले समेत भूमिका बढाउनु पर्नेमा जोड दिएका थिए ।