गृहमन्त्री बादल र भारतीय राजदूतबीच भेटवार्ता

९ चैत ०७६, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।

नेपालका लागि भारतीय राजदूतका रुपमा कार्यभार सम्हालेेेका राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वास व्यक्त गरे ।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरतालपाउने विश्वास व्यक्त गरेका छन् ।

भेटमा गृहमन्त्री थापाले विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग जुध्न सार्क राष्ट्रका मुलुकहरुबिच सहकार्यको आवश्यकतामा जोड दिए ।

यसै सन्दर्भमा काेराेना महामारीका रुपमा नफैलियोस भनेर नेपाल–भारत सीमा नियन्त्रणमा दुबै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरे ।

राजदुत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा सो सम्बन्धलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनलेे कोरोना भाइरसविरुद्धको लडाईंमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको पनि बताए ।

राजदूत क्वात्राले भारतीय सहयोगमा काभ्रेको पनौतीमा बन्न लागेको नेपाल प्रहरीको तालिमकेन्द्र निर्माणको काम र सुरक्षाकर्मीलाई सवारी सधान उपलब्ध गराउने विषयलाई आफूले प्राथमिकतामा राखेको बताउँदै यसलाई छुट्टै द्रुतमार्गबाट अघि बढाउने जानकारी समेत गराएका थिए ।