२१ मंसिर ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि चिनका राजदुत यु होङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार गृहमन्त्रालयमा भएको भेटमा नेपाल–चिन सम्बन्ध, आपसी सहकार्य र आगामी दिनमा सहयोगका विषयमा केन्द्रीत रहेको थियो ।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लाग्नुभएकी राजदुत होङलाई गृहमन्त्री थापाले नेपालमा उहाँको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना दिएका थिए ।
राजदुत होङले आफ्नो कार्यकालमा नेपाल र चीनबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले उहाँको कार्यकालमा नेपाल र चिनबीच महत्वपूर्ण सम्झौताहरु सम्पन्न भएकोमा खुशी व्यक्त गरेका थिए ।
भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण, तालिम र सशस्त्र प्रहरी बलको तालिम केन्द्र निर्माणका लागि चिनले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसले निरन्तता पाउने विश्वास व्यक्त गरेका थिए ।
गृहमन्त्री थापाले नेपाल एक चिन नीतिप्रति प्रतिवद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चिन विरोधी गतिविधि हुन नदिइने प्रतिवद्धता व्यक्त गरेका थिए ।
भेटमा राजदुत होङले आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै आफू स्वदेश फर्किएपछि पनि नेपालको विकासका लागि सक्दो पहल गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उहाँले नेपाली सुरक्षा निकायलाई चिन सरकारबाट प्रदान गरिने सहयोग, तालिम र उपकरण आगामी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा होङले नेपालमा चिन विरोधी गतिविधि नियन्त्रणका लागि गृहमन्त्रालयले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।
राजदुत होङको कार्यकालमा वान बेल्ट वान रोड(ओबिओआर)मा नेपालले हस्ताक्षर गरेको, नेपाल र चिनबीच यातायात तथा व्यापार सम्झौता लगायतका महत्वपूर्ण कार्य भएको विषयमा भेटमा छलफल भएको थियो ।














