१३ जेठ ०७४, काठमाडौं । सोलखुम्बुमा गोमा एयरको विमान दुर्घटनामा विमान चालक पारस राईको उपचारका क्रममा मृत्यु भएको छ भने चालक दलका दुई सदस्य घाइते भएका छन् ।
काठमाडौंबाट उडेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटना हुँदाघाइते भएका चालक राईको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटना लगतै काठमाडौं ल्याउन हेलिकोप्टर पठाइएको भए पनि मौसम खराबबीका कारण सम्भव भएन । उनको लुक्ला अस्पतालमा उपचारका क्रममा निधन भएको सोलखुम्बु प्रहरीले जनाएको छ ।
सहचालक श्रीजन मानन्धरको उपचार जारी छ । विमान परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं पठाउन खोजिएको थियो तर, खराब मौसमका कारण सम्भव भएन ।
उद्दारपछि लुक्ला अस्पताल भर्ना गरिएका उनलाई हेलिकोप्टरबाट काठमाडौं पठाउन भन्दै फेरि विमानस्थल ल्याइएको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि फेरि फर्काएर लुक्ला अस्पतालमा नै लगिएको छ ।
मौसममा सुधार आउनासाथ उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइने बताइएको छ ।