चक्रपथमा  ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न भोलिदेखि रोक

२७ असार ०७४, काठमाडौं । सरकारले  काठमाडौंको चक्रपथमा  ट्रक, टिप्पर र मिनि ट्रकहरु चल्न रोक लगाउने भएको छ । सवारी जाम हुने ‘पिक’ समयमा रिंगरोडमा  ट्रक, टिप्पर र मिनि ट्रक रोक लगाउने निर्णय भएको हो ।

यातायात ब्यवस्था विभागको पहलमा मंगलबार बसेको सरोकारवालाको बैठकले जाम बढी हुने समयमा रंगरोडमा ट्रक, टिप्पर र मिनि ट्रकहरुलाई  प्रवेश र सञ्चालन गर्न बुधबारदेखि नदिने निर्णय गरेको हो ।

बुधबारदेखि विहान साढे ८ बजेदेखि साढे १० बजेसम्म र दिउँसो साढे ३ बजेदेखि साढे ६ बजेसम्म ट्रक र टिप्परलाई चक्रपथमा पनि चल्न नदिइने यातायात विभागका प्रवक्ता डा. टोकराज पाण्डेले  जानकारी दिए ।

चक्रपथमा अब पिक आवरमा ट्रक, टिप्पर र मिनि ट्रक सञ्चालन भए ट्राफिक प्रहरीले कारवाही गर्ने पाण्डेले बताए ।

ट्रक तथा टिप्पर ब्यवसायी महासंघ, राष्ट्रिय यातायात ब्यवसायी महासंघ लगायतका सरोकारवाला पनि सहभागी बैठकले यो निर्णय गरेको छ । रिंगरोडभित्र ट्रक, टिप्पर र मिनि ट्रक विहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने ब्यवस्था पनि कायम राखिएको छ ।

अब ट्राफिक प्रहरीले पनि तोकिएको समयभित्र रिंगरोड आउने ट्रक/टिप्परलाई नियन्त्रणमा लिएर कारवाही गर्ने जनाएको छ । साउन १ गतेदेखि बसहरु बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णय समेत भएको छ ।

पुरानो बसपार्कबाट छुट्ने बस पनि सीधा आफ्नो रुटबाटै जानुपर्ने ब्यवस्था लागू हुँदैछ । यसबाट उपत्यकाको सवारी ब्यवस्थापनमा केही सुधार आउने अपेक्षा गरिएको प्रवक्ता पाण्डेले बताए ।

तपाइको मत