५ साउन ०७६, काठमाडौं । नेत्रविक्रम चन्द समूहका काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।
लामालाई काठमाडौंको काँडाघारीबाट शनिबार राति साढे १२ बजेतिर प्रहरीले पक्राउ गरेको हो ।
लामासँगै अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेको महानगरीय प्रहरी अपराध माहाशाखाका एसएसपी सहकुल थापाले बताए । लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् ।
प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ । राजधानीमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो ।













