सोम बहादुर थापा
२६ माघ, ललितपुर । जन्म र मृत्यु प्राकृतिक नियम नै हो । तथापि, कोही मरेर पनि बाँचिरहेका हुन्छन् भने कोही जिउँदै भएर पनि मरेतुल्य जीवन जिउन विवश हुन्छन् । यहाँ एउटा यस्तै घटना प्रस्तुत गरिएको छ ।
मकवानपुर जिल्ला, सिस्नेरी गा.वि.स. वडा नं. १ स्थायी घर भई हाल ललितपुरको लगनखेलस्थित प्रयागपोखरीमा रहेको एक घरको भुईं तलामा डेरा लिई लगनखेल वरपरका एरियामा ‘नगर प्रहरी’को आँखा छल्दै ठेलागाडामा तरकारी व्यवसाय गर्दै आफ्नै जीवनको परिभाषा खोजिरहेका ३१ वर्षीय श्याम कुमार ब्लोन (लामा) र फुटपाथमा मोजा र टोपीको व्यापार गर्दै आइरहेका २९ वर्षीया विन्दु ब्लोन (अस्मिता लामा) दम्पतीको जीवनमा २०६९ असार १० गतेका दिन खुसीको दिन थियो । तर, यी दम्पतीको मुहारमा खुसीसँगै यही दिनदेखि पलपलमा मानसिक तनावका दिनहरु सुरुवात भए ।
सामान्य मजदुरी गरेर साँझ–बिहानको छाक टार्दै आइरहेको यी जोडी कहिले मिठो मसिनो त कहिले नमिठै खाएर पनि सधैं हाँसी–खुसी जीवन जिइरहेका थिए । एक छोरीका बुबाआमा ‘श्याम र अस्मिता’ पाटन अस्पतालमा ०६९ असार १० गते बिहान २ बजेर १८ मिनेट जाँदा २६०० ग्राम तौलको छोरा जन्मिएपछि दुई सन्तान (छोरी र छोरा)को बुबाआमा भएकोमा हर्षविभोर थिए । बिडम्बना, यो दम्पतीको खुसी लामो समय रहन पाएन । कारण, अस्मिताले सामान्यरुपमा छोरा जन्माएको भएता पनि डाक्टरले छोराको मलद्वार नै नभएको जानकारी गराएपछि के गर्ने, के नगर्ने ? छोराको उपचार कसरी गर्ने ? कहाँ गर्ने ? आर्थिक व्यवस्थापन के गरेर गर्ने ? चिन्ताको भूमरी र मानसिक तनावको पहिरोमा नराम्ररी च्यापिएर अन्यौलताको भूमरीमा फसे, यी दम्पती ।
वास्तवमा, श्याम र अस्मिता दम्पतीले तीन वर्ष ७ महिना पूरा भइसक्दा पनि मलद्वारबिहीन छोराको नाम समेत राखेका छैनन् । पाटन अस्पतालमा उक्त शिशु जन्मदा आमाको नाम ‘अस्मिता’ भएकै कारण ‘वर्थ सर्टिफिकेट’मा ‘अस्मिता’ भएकाले छोरालाई आमाको नामबाट ‘अस्मिता’ नै भनेर बोलाउँछौ भन्छन् उनका बुबा श्याम तामाङ ।
ललितपुरको लगनखेलस्थित पाटन अस्पतालले अस्मिताको छोरा जन्मने बित्तिकै मलद्वार नभएका कारण कान्ति बाल अस्पताल, महाराजगञ्ज काठमाडौंलाई रेफर गरेपछि सातौं दिनमा छोराले पहिलो पटक आफ्नो स्तनपान गर्न पाएको बताउँछिन् ‘अस्मिता’को आमा अस्मिता । साथै, ७ औं दिनमा स्तनपान गराउन पाउँदा अत्यन्तै खुसी लागेको बताउने ममतामयी आमा अस्मिता हाकाहाकीसँगको कुराकानीकै क्रममा फेरि एकाएक भावुक बन्दै भनिन– ‘कान्ति बाल अस्पतालले शहीद गंगालाल अस्पतालमा जानु भनेपछि त्यहाँ गयौं र छोरालाई जचाउँदा त मेरो छोराको मुटुमा दुई वटा प्वाल रहेछ !’
कान्ति बाल अस्पताल, महाराजगञ्जले उक्त बालकको जन्मने बित्तिकै अपरेशन गरी पेटको एक छेउबाट दिशा निस्किने प्वाल बनाई दिएको छ । सोही कृत्रिम मलद्वारबाट दिनमा ३–४ पटकसम्म दिसा दिसा आउने र शरीरभरि लत्पतिने गरेको पीडा सुनाउँदै ‘पैसा र रोजगारको अभावमा निकै कष्टकर दिनहरु बिताउन विवश छु’ अस्मिता भन्छिन, ‘कतिबेला छोराको दिसा निस्कन्छ थाहै हुँदैन, कहिले काम गर्दै गर्दा शरीरभरि आची लागेर कृत्रिम मलद्वार वरपर बिबिरै–बिबिरा आएर पाक्न थाल्छ । चिसो पानीले पखालेको दिन त इन्फैक्सन नै हुन्छ । त्यसैले कृत्रिम मलद्वार मनतातो पानीले सफा नगरी हुँदैन ।’
‘कहिलेकाही बिरामी हुँदा, विशेषत्ः छोरालाई पखला लागेको बेला उसको मुत्रनलीबाट समेत दिसा आउछ । त्यतिबेला आत्तिएर रुन्छ, छट्पट्टिन्छ’ अस्मिता भन्छिन्, ‘मलाई त्यो अवस्थामा निकै असह्य पीडा हुन्छ, मेरो छोरालाई कति पीडा हुन्छ होला ?’
‘आर्थिक अभाव भएकाले छोरा जन्मिएको ठीक एक महिना पछि साउन १० गते छोराको उपचारको लागि पैसा जुटाउन म ऋण गरेर मलेसिया गएको थिएँ’ बालकका बुबा श्याम भन्छन्– ‘के गर्नु नहुनेलाई सबैतिरबाट नहुँदो रहेछ, मेडिकल अनफिट भयो भनेर चार महिनामै नेपाल फर्काइदियो । अहिले ठेलामा तरकारी बेचेर मलेसिया गएको ऋण तिर्दैछु । अझै २५ हजार रुपैयाँ ऋण तिर्नु बाँकी नै छ । छोराको उपचारको खर्च जोहो गर्न गएको थिएँ, उल्टो ऋण लाग्यो, छोराको उपचार गर्न सकेको छैन् ! बाँचेर पनि मरेतुल्य भएको छु, म ।’
‘गाउँमा पनि गरि खाने जमिन पनि छैन्’ मनको वह पोख्दै अस्मिता भन्छिन्– ‘अपरेशन भयो भने त प्राकृतिक रुपमा मलद्वार हुने स्थानमा नै मलद्वार राख्न मिल्छ रे ! तर, हामीसँग आर्थिक छैन् के गरी अप्रेशन खर्च जुटाउने ? साँझ बिहान हातमुख जोर्न त नसकिने यो ठाउँमा छोराको उपचार गर्ने सपना देख्नु मेरा लागि आकाशको तारालाई गुलेलीले हानेर भुईंमा झार्छु भन्नु जस्तै भएको छ ।’
राज्यसत्तामा पहुँच हुनेहरुले सामान्य रुघा–खोकी लाग्दा समेत राज्यकोषबाट लाखौं–लाख रुपैयाँ खर्च गरेको साथै करोडौं खर्चिएर विदेशको महङ्गो अस्पतालमा उपचार गर्न गएको उदाहरण हाम्रो सामु ताजै छ तर श्याम र अस्मिताको बेनामे छोरा जो मलद्वारबिहीन छ, त्यतिमात्र होइन, उसको मुटुमा दुई वटा प्वाल परेको अवस्था छ । के श्याम र अस्मिताको छोराको उपचारमा पनि सरकारले राज्यकोषबाट आवश्यक उपचार खर्च जुटाएर सहयोग गर्छ त ? गरिब, असाहयका लागि राज्यकोषबाट छुट्याइएको स्वास्थ्योपचार बजेटको कुनै शीर्षकले यस बालकलाई स्पर्श गर्न सक्ला त ? प्रश्न पेचिलो भए पनि यसको जवाफ भोलिलाई जिम्मा दिनु पर्ने आजको वाध्यात्मक अवस्था छ ।
श्याम र अस्मिताको ४ वर्षे छोराको तस्बिर र उनको उपचारका क्रममा सङ्लग्न केही कागजातहरु यस्ता रहेछन् :