१६ भदौ ०७४, काठमाडौं । चितवनमा उपचार गरिएका बिरामीमध्ये ३०९ जनामा स्वाइनफ्लु र ४ जनामा डेंगुको संक्रमण भएको पुष्टि भएको छ ।
शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार पछिल्लो तीन महिनाको अन्तरालमा ३०९ जनामा स्वाइनफ्लु भनेर चिनिने ‘‘इन्फ्लुएञ्जा ए एचवान एनवान’ र ४ जनामा डेंगुको संक्रमण भएको पाइएको हो ।
कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले भरतपुर अस्पतालमा उपचार भएका कूल ३८० जना बिरामीको परीक्षण गरिएकामा ३०९ जनामा इन्फ्लुएञ्जा ए एचवान एनवान संक्रमण पुष्टि भएको जानकारी दिए। जिल्लामा फ्लु ए देखिएपछि ३८० जनाको नमूना थप परीक्षणका लागि काठमाडौँमा पठाइएकोमा परीक्षणले ३०९ जनामा संक्रमण पुष्टि गरेको हो ।
संक्रमण भएकामध्ये २५३ जना चितवनका बासिन्दा हुन् भने बाँकी ५६ जना भने बाहिरी जिल्ला तनहुँ, धादिङ, नवलपरासी लगायतबाट चितवनमा आई उपचार गरिएका बिरामी छन् ।
स्वाइनफ्लु लागेका बिरामीमा शुरुमा रुघा लाग्ने, ज्यान दुख्ने, घाँटी दुख्ने, ज्वरो आउने लगायत लक्षण हुने भएकाले चिकित्सकको निगरानीमा उपचार गराउनु पर्ने भरतपुर अस्पतालका डा कालिदास अधिकारी बताउँछन्।
त्यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक राम केसीका अनुसार साउन १ देखि भदौ १५ सम्ममा चारजनामा डेंगु देखिएको बताए। कामको सिलसिलामा भारतको मुम्बईमा बिरामी भएर आएका एक व्यक्तिसहित ४ जनामा डेंगुको संक्रमण देखिएको
साउनदेखि भदौ १५ सम्म जिल्लामा ३२४ जनाको परीक्षणका क्रममा चारजनामा डेंगु पुष्टि भएको हो ।
एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगु सार्ने भएकाले लामखुट्टेबाट बच्न सके र घर वरपर भाँडामा पानी जम्न नदिए रोगबाट बच्न सकिने चिकित्सकले जनाएका छन् ।