धनन्जय बुढा
बिआरआई विश्व साम्राज्यवादीविरुद्धको धक्का
१६ असोज ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना साम्रज्यवादीहरुको लागि धक्का भएको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले सो परियोजना साम्रज्यवादीहरुको लागि धक्का भएको बताएका हुन् ।
प्रवक्ता श्रेष्ठले नेपाल–चीनको सम्बन्ध एक असल र सफल मित्रता कायम रहँदै आएको भन्दै भविष्यमा पनि निरन्तरता पाउने बताए ।
पाँच आयामले नेपाल–चीन सम्बन्ध रहेको बताउँदै श्रेष्ठले भने, “चिनियाँ सरकार नेपालमाथि अहस्थक्षेपकारी नीतिमा अडिग रह्यो, असल छिमेकीको ब्यवहार, चीनको भौगोलिक तथा भू–राजनीतिक अवस्थाअनुसार नेपाललाई स्वाभिमानी बन्न सहयोग, विगतदेखि एक धुर्वीय साम्राज्यवादी धारविरुद्ध बलियो शक्तिका रुपमा खडा हुनु तथा विश्व–राजनीतिक अवस्थामा एक फरक पहिचान स्थापित गर्न चीन सफल भएको छ ।”
चीनले मालेमावादी विचार र आदर्शले विश्वलाई नेतृत्व गर्न सक्छ भन्ने सम्भावनालाई मुर्तता दिएको उनले बताए ।
चीनको कदम अनुकरणीय तर सरकार उदासिन
सामाजिक साँस्कृतिक विकास तथा भ्रष्टाचार नियन्त्रणमा चीनले चालेको पछिल्लो कदम नेपालका निम्ति पनि अनुकरणीय रहेको तर आफ्नै पार्टी नेतृत्वको सरकार उदासिन देखिएको बताए ।
श्रेष्ठले भने, “हाम्रो नेपालमा आफ्नो वरिपरिका भ्रष्टाचारीबाहेक सबैलाई साफ पारिन्छ भन्ने तरिकाले कसरी भ्रष्टाचार उम्मुलन हुन्छ ?”
यसैगरी कार्यक्रममा साम्राज्यवाद विरोधी मञ्च नेपालका संयोजक नरेन्द्रजंग पीटरले उत्तरमा हिमालय हुनुको बाबजुद पनि नेपाल–चीनको सम्बन्ध प्रगाढ रहेको र अझै निकट रहनु पर्ने धारण व्यक्त गरे ।
रुसका लागि पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले माओले नयाँ जनवादी गणतन्त्र चीनको स्थापना नगरेको भए नेपाल मात्र नभएर एसियाको राजनीतिक व्यवस्थामाथि साम्राज्यवादीको पञ्जामा जाने पक्का रहेको बताए ।
उनले पश्चिमाहरुले स्वतन्त्र तिब्बतको लागि नेपाली भूमिको प्रयोग गराउने प्रयास गरिरहेको र त्यसलाई कडा प्रतिबाद गर्नु पर्ने बताए ।
त्यसैगरी किसान नेता चित्रबहादुर श्रेष्ठले नेपाली क्रान्तिले पनि जनवादी गणतन्त्र चिनियाँ मोडालिटीलाई अंगिकार गरेर नेपालमा धेरै परिवर्तन गर्न सफल भएको धारणा ब्यक्त गरे ।
जनवादी गायक जीवन शर्माले कार्यक्रममा नयाँ चीन स्थापना दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै जनवादी गीत गाएका थिए ।