चुनावलाई बैशाख ३१ मै हुने, कांग्रेसले त्यसको पूर्ण सदुपयोग गर्ने – नेपाली कांग्रेस

१८ बैशाख ०७४, ललितपुर । नेपाली कांग्रेसले २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावलाई ऐतिहासिक भन्दै बैशाख ३१ मै हुने  र कांग्रेसले त्यसको पूर्ण सदुपयोग गर्ने बताएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा असन्तुष्टि जनाउँदै पार्टीका नेता बिमलेन्द्र निधिले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि चुनावमा आशंका व्यक्त भइरहेका बेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार आयोजित पत्रकार भेटघाटमा कांग्रेसले चुनाव कुनै हालतमा नसर्ने जनाएको हो ।

चुनाव प्रचारप्रसार समितिका संयोजक रमेश लेखकले भने, ‘नेपाली कांग्रेस यो निर्वाचन ३१ गते नै सम्पन्न गर्ने कुरामा प्रतिबद्ध छ । हामीले अठोट गरेका छौं तोकिएको समयमा सम्पन्न हुन्छ । यसका कार्यक्रमहरु तोकिएको समयमा सम्पन्न हुन्छन् ।’

निर्वाचनको प्रचार प्रसार जारी राखेको कांग्रेसले उम्मेदवार छनोटको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।

कांग्रेस शीर्ष नेताहरु पार्टी कार्यालय सानेपामै उम्मेदवार छनोटको गृहकार्यमा जुटेको नेता लेखकले जानकारी दिए । उनले आकांक्षी धेरै भएको स्थानमा पार्टीले बिधि र पद्दती अनुसार उम्मेदवारको टुंगो लगाउने बताए ।

तपाइको मत