२२ साउन ०७४, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदेयश त्रिपाठीले असोज २ गते हुने स्थानीय तहको निर्वाचन बहिस्कार गरे राजपा नेपाल नरहने चेतावनी दिएका छन् ।
नेता त्रिपाठीले आईतबारबाट काठमाडौमा सुरु भएको राजपा नेपालकाे केन्द्रीय समिति बैठकमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
केन्द्रीय समिति बैठकमा नेताहरुलाई चेतावनीकाे भाषामा त्रिपाठीले भने, ‘राजपाको हैसियत सबैले बुझिसकेका छन् । यसको ओजन कति छ त्यो पनि सबैलाई थाहा छ । तपाईहरुको क्षमता छैन भन्ने प्रष्ट भइसकेको छ । बरु, चुनावको तयारीमा लाग्नुस् त्यो नै भलो हुन्छ ।’
आफ्नो धारणा राख्ने क्रममा नेतृत्वप्रति आक्राेशित देखिएका त्रिपाठीले १,५ र ७ नम्बर प्रदेशमा निर्वाचन बहिस्कार गरेर त्यस भेगका जनतालाई धोखा दिएको समेत बताए ।
उनले स्थानीय चुनाव बहिस्कार गरेपछि त्यसलगत्तै हुने प्रदेशसभा र केन्द्रीय संसदको चुनाव के गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
त्रिपाठीले भने, ‘अहिले स्थानीय चुनाव बहिस्कार गर्नुहोला, तर प्रदेश र केन्द्रको पनि चुनाव हुदैछ, त्यो चुनाव के गर्नुहुन्छ ? त्यो पनि बहिस्कार नै गर्नुभयो भने राजपा पार्टी नै रहँदैन ।’