१७ पुस, काठमाडौं । “हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी अभियान” भन्ने नाराका साथ चौथों अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाइएको छ ।
नेपाली टोपी दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाइँदै आएको छ ।
प्रभातफेरिमा सहभागीहरुले ‘नेपाली मन, नेपाली पन, नेपाली टोपी हाम्रो शान’, ‘नेपाली टोपीः मेरो गौरव, मेरो मेरो पहिचान’ लगायतका नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए ।
अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले टोपी दिवसको सुरुआत भएको अभियन्ताहरुले बताएका छन् ।













