छलफल बिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम आउँदै

११ जेठ ०७४, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहको सङ्ख्या थपको विरोधमा संसदको कारबाही चल्न नदिएपछि पूर्वबजेट छलफल बिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम आउने भएको छ ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

संसद सचिवालयको कार्यतालिकाअनुसार बिहीबार दिउँसो ४ बजे नीति तथा कार्यक्रम पेस गर्ने समय तोकिएको छ ।  संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्दछ ।

निर्वाचन आचारसंहिताका कारण यो पटक अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई नै मुख्य रूपमा निरन्तरता दिइएको छ ।  नयाँ कार्यक्रम ल्याउन नमिल्ने प्रतिपक्षी दलको अडान र निर्वाचन आयोगको सुझावपछि सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम तय गरेको छ ।

नीति तथा कार्यक्रम पहिलो पटक सङ्घीय संरचनामा तयार भएको छ ।  जसमा केन्द्रमा राष्ट्रिय गौरवका ठूला आयोजनाको प्राथमिकता तय भएका छन् ।  सङ्घीय संरचनाअनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन् ।

दलहरूबीच सहमति नभएपछि बुधबारको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

तपाइको मत