जग्गा कीर्ते गरी लालपूर्जा निकाल्ने एक जनालाई ३७ लाख ७० हजार जरिवाना

१९ चैत ०७५, नवलपरासी । जिल्ला अदालत परासीले अरुको नामको जग्गा कीर्ते गरेर लालपूर्जा निकाली फर्जी काम गरेको अभियोगमा एक जनालाई जरिवानाको फैसला सुनाएको छ ।

अर्कैको नाममा रहेको २ विघा १८ कठ्ठा जग्गा कीर्ते गरी आफ्नो नाममा बनाएको ठहर गर्दै अदालतले बर्दियाको ताराताल घर भई हाल पोखरा महानगरपालिका १७ विरौटामा बस्ने प्रकाश सुनारलाई ३७ लाख ७० हजार जरिवानाको सजाय सुनाएको हो ।

सुनारले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ भुवनेश्वर अग्रवालको नाममा रहेको र उनले नै जोतभोग गर्दै आएको नवलपरासीको साविक जमुवाड गाविस ८ मा रहेको २ विगाहा १८ कठ्ठा जग्गाको जग्गाधनी लालपूर्जा कीर्ते गरी निकालेको ठहर अदालतले गरेको छ ।

जिल्ला अदालतले सोमबार ३७ लाख ७० हजार जरिवाना माग गरेको र उनले धरौती रकम नबुझाएका कारण मंगलबार करागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नावय उपरीक्षक एवम् सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।

तपाइको मत