१७ चैत्र ०७९, बागलुङ । संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कार्यान्वयनमा जान सुरुभएको छ ।
प्रदेश सरकारले यस कार्यक्रमलाई स्थानीय तहसँगको सहकार्यमा प्रदेशभित्रका सरकारी विद्यालयहरुमा कार्यान्वयन गर्न सुरु गरेसँगै विद्यार्थीले अब विद्यालयमै स्वास्थ्य सेवा पाउने भएका हुन् ।
बागलुङ जिल्लाको गल्कोट नगरपािलकास्थित श्री जनजागृति माध्यामिक विद्यालयमा गण्डकी प्रदेश सरकारबाट विद्यालय नर्स नियुक्त गरिएपछि विभिन्न चेतनामुलक कार्यक्रमहरु गर्न सुरु भएको छ ।
शुक्रबार श्री जनजागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक तजेन्द्र बुढाथोकीले विद्यालयमा अभिभावकहरुको उपस्थितिमा विद्यालय नर्स निता पुनद्वारा इ.सि.डि.का ३५ जना बालबालिकाहरुको स्वास्थ्य परामर्श तथा कक्षा ११ र १२ का अभिभावकहरु साथै विद्यार्थीहरुसङ्ग परीक्षा केन्द्रीत छलफल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “शै.स. को अन्त्यतिर, अप्रत्याशित चिसो बनाउने सुमधुर र सभ्य झरी ! दुई भिन्न तर उपलब्धिमुलक कार्यक्रममा हाम्रो व्यस्तता !! अभिभावकहरुको उपस्थितिमा विद्यालय नर्स नीता पुनद्वारा इ.सि.डि. का ३५ जना बालबालिकाहरुको स्वास्थ्य परामर्श ! कक्षा ११/१२ का अभिभावकहरु र विद्यार्थीहरुसङ्ग परीक्षा केन्द्रित छलफल !!”
यस्तै उक्त विद्यालयका विद्यालय नर्स निता पुनले एक विद्यालय एक नर्स कार्यक्रम देशभरका सरकारी विद्यालयमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् ।
उनले आफ्नो भूमिकाबारे प्रष्ट पार्दै भनिन्, “विद्यालयमा हरेक विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, विद्यार्थीका घरपरिवारलाई स्वस्थ रहने तरिकाबारे सिकाउँदै अघिबढिरहेका छौं । एक विद्यालय एक नर्स कार्यक्रम देशभरका सरकारी विद्यालयमा कार्यान्वयन हुनु जरुरी छ ।”
विद्यालय नर्स निता पुनले शक्रबार विद्यार्थीहरुको स्वास्थ परीक्षण गर्नुका साथै अभिभावकहरुसँग स्वास्थ्य शिक्षाको महत्वबारे परामर्श गरेको बताइन् ।
शिक्षा मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ३५ हजार दुई सय वटा विद्यालय रहेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रम लागू गरेसँगै अहिले देशभरका ४ सय १० स्कुलमा मात्रै विद्यालय नर्स नियुक्त भएका छन् ।
विद्यालय नर्सले आफू नियुक्त विद्यालयमा विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य सरसफाई, पोषणयुक्त खानपान, प्रजनन स्वास्थ्य शिक्षा, सर्ने र नसर्ने रोग, ध्यान दिनुपर्ने कुराहरुका बारेमा विद्यार्थीहरुका साथै अभिभावकहरुलाई समेत प्राथमिक स्वास्थ्यका विषयमा आधारभूत स्वास्थ्य शिक्षा दिँदै आइरहेको छ ।