१५ कार्तिक ०८०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दवावमुक्त हुन नसकेको भन्दै अर्थतन्त्रको दवाव हटाउन राष्ट्रिय गोलमेचको तयारी गरेको बताएका छन् ।
बुधबार दिउँसो नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थतन्त्रको दवाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजश्व संकलन र परिचालन, पर्यटक आगमन, बिप्रेषण लगायतका क्षेत्रका सूचक हेर्दा हामी प्रगतितिरै छौं । तर, अर्थतन्त्र अझै पनि दवावमुक्त भइसकेको छैन । अर्थतन्त्रको दवाव हटाउने कुरा हाम्रा लागि सबैभन्दा ठूलो कार्यभार हुन आएको छ ।’’
‘‘सामान्य वा टालटुले तरिकाले अर्थतन्त्रको दवाव हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ । तसर्थ, छिट्टै नेपाल सरकारका सबै मन्त्रीहरू, सचिवहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र आर्थिक क्षेत्रका विज्ञहरूको बृहत बैठकको आयोजना गर्छौं । मैले नै त्यसको अध्यक्षता गर्छु,’’ उनले भने, ‘‘उक्त अन्तरक्रियाको निष्कर्षलाई कार्ययोजनामा ढाल्न विज्ञहरूको टीम बनाएर सोहीबमोजिम नीति र कार्यक्रम बनाउँछौं ।’’
बजेट प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्छौं
अहिलेको बजेट बनाउने प्रणाली र प्रक्रियाले अर्थतन्त्रलाई सहयोग नगरेको भन्दै उनले परम्परागत ढंगले बनाइने नीति, कार्यक्रम र बजेटले देशको समस्या सम्बोधन गर्न नसक्ने बताए ।
नीति कार्यक्रम पेश गरेपछि संशोधन नै नहुने, बजेट प्रस्तुत भएपछि रातो किताब हेरफेर नै नहुने हाम्रो प्रणाली र तरिका गलत रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘‘लोकतन्त्रमा सबै प्रस्तावहरूमाथि छलफल हुन्छ, अन्तरक्रिया हुन्छ र संशोधन पनि हुन्छ। तसर्थ, आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारी अहिलेदेखि नै गर्नुपर्छ । पहिला नीति, कार्यक्रम प्रस्तुत गर्ने, त्यसमाथि संसदभित्र र बाहिरसमेत गम्भीर बहस गरेर मात्र संशोधनसहित पारित गर्नुपर्छ । बजेट पनि प्रस्तुत हुनेबित्तिकै हेरफेर नभई पारित हुने पद्धति बदल्नुपर्छ । यसपटक हामी बदल्छौं ।’’
जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने नसोच्दा हुन्छ
प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका विरूद्ध षड्यन्त्र भइरहेको भन्दै १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान निर्माणका पक्षधर शक्तिहरू एकठाउँ उभिएर त्यसलाई परास्त गरिने बताए ।
उनले भने, ‘‘हिजो कोतपर्व, भण्डारखाल पर्व, नारायणहिटी हत्याकाण्ड मच्चाएका शक्तिहरू नै शान्तिको कुरा गर्दैछन्, जनताको कुरा गर्दैछन् । जनताको भावना भड्काएर परिवर्तन उल्टाउन सकिन्छ कि भन्ने कसैले नसोच्दा हुन्छ, त्यस्ता षड्यन्त्र लोकतान्त्रिक शक्तिहरू मिलेर परास्त गरिन्छ।’’