जनता र प्रहरी समन्वय भए गुण्डागर्दी, मानवतस्करी अन्त्य – गृहमन्त्री शर्मा

६ असोज ०७४, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जनता र प्रहरीको समन्वय भए गुण्डागर्दी, मानवतस्करी, चोरी, डकैती र भ्रष्टाचार अन्त्य हुने बताएका छन् ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित पुलिस क्लबमा आयोजित ‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री शर्माले सो कुरा बताएका हुन् ।

मन्त्री शर्माले जनतालाई समस्या पर्दा एक नम्बरमा सम्झिने प्रहरी नै भएको बताउँदै, टोल–टोलमा प्रहरीहरुले जनताका समस्या समाधान गर्दै अगाडि बढ्नु बताए ।

समृद्धि र सुरक्षा एउटै सिक्काको दुई पाटा भएको बताउँदै उनले जबसम्म जनताले आफूलाई सुरक्षित महशुस नगर्दासम्म देशले समृद्धि हासिल नगर्ने बताए ।

‘जानकारीको अभावमा जनता थप मारमा परेका छन,’ मन्त्री शर्मा भने, ‘जनता र प्रहरी बीच सूचना आदान–प्रदान भए, गुण्डागर्दी, मानवतस्करी, चोरी, डकैती र भ्रष्टाचारको अन्त्य हुनेछ ।’

मन्त्री शर्माले यसका लागि थप जनशक्ति नबढाई उपलब्ध प्रहरीलाई नै परिचालन गर्ने समेत जानकारी गराएका छन् ।

‘त्यसका लागि स्थानीय सरकार, नागरिक अगुवाहरु र जनतासँगको सहकार्य अनिवार्य हुनेछ’ गृहमन्त्री शर्मा भने ।

मन्त्री शर्माले गृह प्रशासनमा सरुवा बढुवाका लागि छुट्टै ऐन बन्दै गरेको समेत जानकारी गराए ।

‘प्रहरी हाम्रो टोलमा’ अभियानको घोषणा कार्यक्रममा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, गृह सचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल लगायतले समुदायको सुरक्षाको आधार जनता आफैँ भएको बताउँदै परिवर्तित परिवेशको गतिसँगै नेपाल प्रहरी पनि विकसित हुने बताएका थिए ।

तपाइको मत