१६ बैशाख ०७५, डडेल्धुरा । नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
जन्ती बोकेको से १ज २३८ नं को गाडी केआइसिंह राजमार्गको रडुवाखोला नजिक दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका हुन् ।
जिपको ब्रेकफेल हुँदा जिप सडकमै पल्टिएको जन्ती गएका सर्वसाधारण बताए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जिपको ब्रेकफेल हुँदा जिप दुघर्टना भएको र घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको बताए । घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।