१२ भदौ ०७७, काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन् ।
आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन् ।
यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो ।
उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ ।
सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका थिए ।
सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन् । उनको पदावधि २०२१ सम्म थियो ।
जापानमा प्रधानमन्त्री अशक्त भए के हुन्छ ?
प्रधानमन्त्रीले कार्यभार सम्हाल्न नसकेको अवस्थामा जापानी कानुनअनुसार कार्यवाहक प्रधानमन्त्री नियुक्त हुन्छन् ।
तर कार्यवाहक प्रधानमन्त्री कहिलेसम्म पदमा रहने भन्ने सीमा तोकिएको छैन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री टारो आसो मर्यादाक्रममा प्रधानमन्त्रीपछि दोस्रो स्थानमा र त्यसपछि मन्त्रिपरिषद्का मुख्यसचिव योशिहिदे सुगा छन् ।
अब के हुन्छ ?
प्रधानमन्त्रीले राजीनामाले तत्काल लागु हुनेगरी राजीनामा दिएका हुन् कि आफ्नो उत्तराधिकारीको चयन हुन्जेल उनी पदमै बस्छन् भन्ने स्पष्ट भइसकेको छैन ।
आबेले राजीनामको घोषणापछि अब सत्तारूढ दलले आफ्नो नयाँ अध्यक्ष चुन्न मतदात गराउनुपर्छ ।
त्यसपछि संसद्मा नयाँ प्रधानमन्त्रीको निर्वाचन हुनेछ । त्यसरी छानिएका नेता आगामी वर्ष सेप्टेम्बरसम्मका लागि आबेका स्थानमा प्रधानमन्त्री बन्ने बीबीसीमा खबर छ ।