१९ असार ०७७, काठमाडौं । जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान रकम सरकारले स्वीकार गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जापानको सहायता स्वीकार गर्ने जानकारी दिँदै बोराङ नौबिसे २२० केभी प्रसारण लाइन आयोजना र कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारवाही गर्ने अधिकारी क्रमशः सहायक लेखा अधिकृत प्रल्हादकुमार कार्की र सहायक प्रशासकीय अधिकृत कृष्णकुमार खड्कालाई तोक्ने निर्णय गरेको पनि बताए ।
त्यस्तै बैठकले संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, जेनेभाको आर्थिक वर्ष २०७६÷७७ को लागि नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव एक, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव एक गरी दुई वटा अस्थायी दरबन्दी नवीकरण स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।