४ भदौ ०७६, काठमाडौं । नेपालका लागि जापानी राजदुत र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बीच भेटवार्ता भएको छ ।
बुधवार सिंहदरबारमा जापानी राजदुत मासामिची साइगा र उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनबीच भेटवार्ता भएको हो ।
छलफलमा दुई देशका हित र उर्जा, जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
स्रोतकाअनुसार भेटमा मन्त्री पुनले जापान नेपालको भरपर्दो विकास साझेदार मुलुक रहेको साथै जापान–नेपाल पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको बताएका थिए । उनले विगतमा जापानले कुलेखानी परियोजनादेखि नलगाडसम्म सहयोग गरेको भन्दै धन्यवाद व्यक्त पनि गरेका थिए ।
नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बनेकाले लगानीको लागि जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसँग आग्रह समेत गरेका थिए ।
जापानी राजदूत साइगोले नलसिंगाड परियोजना जाइकाले पिपिपी मोडलमा अध्ययन गरिरहेको जानकारी दिए । भने, मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिँदै सो क्रममा दुई देशको सम्बन्ध र उर्जा, जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताए ।













