१२ असार, चितवन । चितवनमा जारी नेपाल चेपाङ सघंको चौथो राष्ट्रिय महाधिवेशनले १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै जितेन्द्र चेपाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिमायाँ चेपाङ, उपाध्यक्षमा बिलबहादुर चेपाङ, महासचिवमा आइतसिंह चेपाङ, सचिवमा बिनोदबहादुर चेपाङ र मङ्गलसिंह चेपाङ, कोषाध्यक्षमा रवीन्द्र सिंह चेपाङ रहेका छन् ।
नेपालमा पिछडा वर्गको रुपमा परिचित चेपाङ जातिको प्रदेशमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने जोडदार माग राख्दै भण्डारा-मलेखु सडकलाई चेपाङ लोकमार्ग बनाइनुपर्ने, चेपाङ बाहुल्यता रहेका जिल्ला चितवन, धादिङ, मकवानपुर र गोर्खाका गाउँ विकास समितिका संघीय संरचनाअनुसार चेपाङ नेतृत्व सुनिश्चित गर्न दबाब दिने लगायतका माग घोषणपत्रमा उल्लेख छ ।
चितवनसहित छ जिल्लाका २ सय ५० जना प्रतिनिधि र १ सय ५० जना पर्यवेक्षकको सहभागिता रहेको महाधिवेशन शनिबार चितवनमा सुरु भएको थियो ।