२७ साउन ०७४, काठमाडौं । मुलुकी अपराध संहिताले ६ वटा अपराधमा संलग्न भएकालाई जीवनभर जेल बस्नुपर्ने सजायको व्यवस्था गरेको छ ।
मुलुकी ऐन प्रतिस्थापन गर्दै बुधबार पारित भएको सो विधेयकले यसअघि रहेको २० वर्षमात्रै जन्मकैदको सजाय व्यवस्था परिवर्तन गरी २५ वर्ष पुर्याएको भए पनि ६ वटा अपराधबारे छुट्टै व्यवस्था गरेको छ ।
‘अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कसुर गर्ने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्छ’ भन्दै संहिताले जीवनभर जेल बस्नुपर्ने उल्लिखित सूची तयार पारेको हो ।
जीवनभर जेल बस्नुपर्ने कसुर
- क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा
- वायुयान अपहरण गरी विस्फोट गराई ज्यान मारेमा
- अपहरण गरी वा शरीरबन्धक लिई ज्यान मारेमा
- सार्वजनिक रूपमा उपयोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा
- कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व लोप गर्ने जातिहत्या गरेमा वा गर्ने उद्देश्यले कसुर गरेमा
- जबरजस्ती करणी गरी ज्यान मारेमा
एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले ८४ वर्षअघिको कानुन फेर्दै नयाँ कानुन निर्माण गर्ने क्रममा यस्तो व्यवस्था गरिएको बताए ।
‘अन्य मुलकमा यस्तो खाले गम्भीर अपराध गर्नेलाई फाँसी दिइन्छ तर मानवअधिकारसबन्धी राष्ट्रसंघीय अभिसन्धिमा हस्ताक्षर गरेकाले नेपालमा फाँसी दिन मिल्दैन,’ नेम्बाङले भने, ‘तर, फाँसीसरह मानेर यस्ता अपराध गर्नेलाई बाचुन्जेल जेल बस्नुपर्ने व्यवस्था गरिएको हो ।’
छाउपडी परम्परालाई अपराधका रूपमा व्याख्या
छाउपडी परम्परालाई सो संहिताले अपराधका रूपमा व्याख्या गरेको छ । ‘महिलाको रजस्वला वा सुत्केरी अवस्थामा छाउपडी राख्नु हुँदैन वा त्यस्ता अन्य कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु हुँदैन,’ संहितामा भनिएको छ, ‘कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ ।’
तेजाब छर्नेलाई ८ वर्ष जेल
तेजाब छर्नेलाई पाँच वर्षदेखि ८ वर्षसम्म जेल सजाय र १ लाखदेखि ८ लाख रुपैयाँसम्म जरिबाना गराउने नयाँ व्यवस्था पनि लागू भएको छ । पुराना कानुनी व्यवस्थाले पारेको अप्ठ्यारो सम्बोधन गर्न समयानुकूल परिवर्तन गरिएको सांसद रेवतीरमण भण्डारीले बताए ।
जबरजस्ती भिक्षा माग्ने र मगाउने दुवैलाई कैद
सो संहितामा जबरजस्ती भिक्षा माग्ने र मगाउने दुवैलाई सजाय र कैदको व्यवस्था गरिएको छ । ‘पहिलोपटक भिक्षा मागेको भए एक महिनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिबाना र दोस्रोपटकदेखि प्रत्येकपटक दुई महिनासम्म कैद वा दुई रुपैयाँसम्म जरिबाना गरिनेछ,’ संहिता उल्लेख छ, ‘पहिलोपटक भिक्षा माग्न लगाएको भए एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिबाना वा दुवै र दोस्रोपटकदेखि प्रत्येकपटक तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै हुनेछ।’
पशु वा पन्छीलाई सार्वजनिक स्थलमा मार्न नपाइने
सार्वजनिक स्थलमा पशुपन्छी मार्ने विषयमा पनि संहिताले कडाइ गरेको छ । ‘कसैले पनि कुनै पशु वा पन्छीलाई परम्परादेखि बलि दिँदै आएको धार्मिक स्थलबाहेक अन्य कुनै पनि सार्वजनिक स्थलमा मार्नु हुँदैन’ संहितामा उल्लेख छ । उक्त कार्य गर्नेलाई एक महिनासम्म कैद र ५ हजारसम्म जरिबाना हुनेछ ।