
काठमाडौँ । नेपाल प्रहरीको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभर ६ सय २९ भवन पूर्णरूपमा क्षति भएको छ ।
जेनजी पुस्ताका नाममा भएको आन्दोलन उक्त क्षति भएको हो । साथै, १ हजार ५ सय ६० भन्दा बढी भवनमा आंशिकरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार नेपाल प्रहरीको १ सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ । २ सय ५८ वटा भवनमा आंशिक क्षति भएको छ ।
यस्तै ३ सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ भने ८ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
व्यापारिक तथा नीजि भवन ९७ वटा पूर्णरूपमा क्षति भएको र २ सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने १ सय ७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले बताएको छ ।
यस्तै जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा दिएको जानकारीअनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ गते युवाहरु भ्रष्टाचारको अन्त्य र केपी शर्मा ओलीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए । सोी दिन प्रहरीसँग भएको झडपमा १९ जनाको मत्यु भएको थियो ।
भदौ २४ गत आन्दोलन थप नियन्त्रणबाहिर जाँदा थप ५३ जनाको निधन हुँदा ७२ जनाको मृत्यु साथै राज्यको अर्बौंको भौतिक संरचना आगजनीबाट खरानीमा परिणत भएको छ ।













