जोखिमपूर्ण अवस्थामा रहेको पर्खाल भत्काउन स्थानीयको माग

१२ भदौ ०७४, राजविराज । राजविराज नगरपालिकाको मुख्य हाटबजार प्रवेश गर्ने मार्गको पूर्वपट्टीको सडकखण्ड किनारमा रहेको जिर्ण पर्खाल जुनसुकै बेला भत्कन सक्ने भन्दै स्थानीयले भत्काउन माग गरेका छन् ।

करिब सय २० फिट लामो र ६० फिट उचाई भएको उक्त पर्खाल ठाउँ–ठाउँमा चर्केर भत्कने अवस्थामा पुगेपछि स्थानीयवासी र पैदल यात्रीहरुले भतकाउन माग गरेका हुन् ।

सो घरजग्गाका धनी दिपेन्द्र साह लामो समयदेखि गाउँमै बस्ने गरेकाले बेवारिसे अवस्थामा रहेको उक्त पर्खाल जुनसुकै बेला भत्किएर अप्रिय घटना हुनसक्ने स्थानीय विजय साहले बताए ।

‘एक त पहिले देखिनै जिर्ण, अर्कोतिर बाढीले झन् कमजोर बनाएकाले पर्खाल भत्किएर जुनसुकै बेला अप्रिय घटना हुनसक्ने अर्का स्थानीयवासी विशेश्वर प्रसाद साहले बताए ।

साहले यसबारे पटक–पटक जग्गा धनी साह र नगरपालिका कार्यालयलाई समेत जानकारी गराउँदा पनि कुनै चासो नदेखाइएको बताएका छन् ।

स्थानीयवासी नरेश देवले नगरपालिकाको लापर्वाहीले सम्भावित दुर्घटना रोक्ने प्रयास सफल हुन नसकेको गुनासो पोखे ।

स्थानीय हाटबजार प्रवेश गर्ने भित्री सडकहरु मध्येका अत्यन्तै भिडभाड र व्यस्त सडकको रुपमा यस पर्खाल मार्ग रहेको छ । दैनिक दुईदेखि तीन हजारसम्म पैदल यात्रीहरु उक्त मार्गवाट ओहोर–दोहोर गर्छन् ।

तपाइको मत