२७ कार्तिक ०८०, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले सरकारले टिकटक बन्द गर्ने निर्णय गरिएको बताइन् ।
उनले टिकटक बन्द गर्ने मन्त्रिपरिषदको निर्णय तत्काल कार्यान्वयनमा जाने भन्दै डेडलाइन नतोकिएको बताइन् ।
‘टिकटक तत्काल बन्द गर्ने निर्णय भएको छ’ मन्त्री शर्माले भनिन्, ‘निर्णय कार्यान्वयनमा जान प्राविधिकरुपमा केही समय लाग्नसक्ने हुँदा आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अहिलेसम्म टिकटक बन्द गर्ने देशको संख्या २७ रहेको जनाएको छ ।
जसमा किर्गिस्तानले बालबालिकाको कुलत र मानसिक स्वास्थ बिग्रेको कारण देखाउदै प्रतिवन्ध लगाउने निर्णय गरेको थियो ।
यस्तै विभिन्न कारण देखाउँदै बेलायत, अमेरिका, न्यूजिल्यान्ड, क्यानडा, ताइवान, बेल्जियम, डेनमार्क, पाकिस्तान, अफगानिस्तान, भारत, सोमालिया, अर्मेनिया, अजरवैजान, बंगलादेश, इन्डोनेसिया, इरान, जोर्डन, अष्ट्रिया, इस्टोनिया, फ्रान्स, आयरल्यान्ड, लाटभिया, माल्टा, नेदरल्यान्ड, नर्वे, अष्ट्रेलियाले टिकटकमा प्रतिबन्ध लगाएको छ ।