टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्नुपर्छ – माधव नेपाल

९ बैशाख ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य माधव कुमार नेपालले टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्नु पर्ने बताएका छन् ।

नेता नेपालले नेपाल कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाल लगायत संस्थापकहरुको स्मरण गर्दै मंगलबार जारी गरेको प्रेस वक्तव्यमार्फत् यस्तो बताएका हुन् ।

सरकार र पार्टी कहीँबाट पनि एकतामा आघात पुग्नसक्ने काम कुरा हुन नहुने भन्दै वक्तव्यमा भनिएको छ, “कम्युनिष्ट आन्दोलनका विगतमा टुट फुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दीगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी हो ।”

कोरोनाले विश्वलाई आक्रान्त पारिरहेको बेला नेता–कार्यकर्तालाई कोरोनाविरुद्ध लड्न र पार्टी एकताप्रति संवेदनशील रहन आग्रह गर्दै नेता नेपालले वक्तव्यमा भनेका छन, “यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनको मान्यतामा प्रहार गर्ने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टी एकतामा आघात पुग्नसक्ने काम कुरा हुनु हुँदैन ।’

“हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ” वक्तव्यमा भनिएको छ, “पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउन आआफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।”

उनले व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह, अहम र कुनै प्रकारको भावावेश, आशंका र अविश्वासबाट प्रेरित र प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

प्रेस वक्तव्य :