१ साउन ०७७, काठमाडौं । सहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्यूटर अपरेटर पदमा कार्यरत दिवाकर देउजालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानूनी पहुँच स्थापना गरी टेलिकमलाई हानी नोक्सानी पु-याएको भन्दै अनुसन्धानको लागि ब्युरोले पक्राउ गरेको हो ।
देउजालाई अनुसन्धानको लागि नेपाल टेलिकमको अनुरोधमा प्रहरीले पक्राउ गरेको हो ।
उनले अन्ट्रासिवल प्रविधिको प्रयोग गरी अनधिकृतरुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिएपछि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन उनलाई बिहीबार नेपाल प्रहरी साइबर ब्यूरो, काठमाडौँ पठाइएको सीआइबीले जनाएको छ ।