६ पुस ०७७, काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको ठूला तीन दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन अलोकतान्त्रिक र संविधानविरोधी कार्य भएको निष्कर्ष निकालेको छ ।
सोमबार अपरान्ह चार बजे कांग्रेस सभापति देउवाले डाकेको उक्त बैठकमा संसद विघटनविरुद्ध नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी एकजुट भएर जाने निर्णय गरेको छ ।
सो बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल साथै जनता समाजवादी पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।
भोलि मंगलबार नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समितिको बैठक बसेर आगामी रणनीति तय गर्ने आजको ती दलीय बैठकले निर्णय गरेको कांग्रेस पार्टी कार्यालयले जानकारी दिएको छ ।