१८ माघ, काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी) दयानिधि ज्ञवालीसहित महानगरीय प्रहरी परिसर, ललितपुरका तीन प्रहरी अधिकृत ३ लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी नायव उपरीक्षक (डीएसपी) दयानिधि ज्ञवालीसहित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेशकुमार सिंहलाई ललितपुरको जावलाखेलस्थित थाई घर रेस्टुरेन्टमा ललितपुरको एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पका सञ्चालकको मुद्दा मिलाई दिने भन्दै ३ लाख घुस लिँदै गरेको अवस्थामा सोमबार राति पक्राउ गरेको हो । अख्तियारको टोलीले डिएसपी ज्ञवाली र इन्स्पेक्टर रमेशकुमार सिंहको साथबाट ३ लाख रुपैयाँ बरामद गरेको छ ।
यसैगरी प्रहरी नायव निरीक्षक (सई) लालमणि पाण्डेलाई पनि अख्तियारको टोलीले डेढ लाख रुपैयाँ घुससहित कलंकीबाट सोमबार राति नै पक्राउ गरेको छ । घुससहित पक्राउ परेका तीनै जना प्रहरी अधिकृतलाई टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयको हिरासतमा राखेको छ ।