तीनवटै निर्वाचन समयमै हुन्छन्: प्रधानमन्त्री देउवा

२६ जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन समयमै गर्नु आफ्नो चुनौती भएको बताएका छन् । बिहीबार नेपाल विद्यार्थी संघले गरेको ‘स्थानीय निर्वाचन परिचालन अभिमुखीकरण’ कार्यक्रममा देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचन समयमै गर्नु आफ्नो सरकारको चुनौती भएको बताएका हुन् ।

‘१४ असारमा दोस्रो चरणको निर्वाचन गर्नु छ । त्यसपछि सात माघसम्म प्रदेश र संसद्को निर्वाचन गरिसक्नुपर्ने चुनौती छ,’ देउवाले भने, ‘सात सालदेखि लड्दै त्यसपछिका सबै आन्दोलनमा नेतृत्व गर्दै प्रजातन्त्रलाई सदृढ गर्ने पार्टी नेपाली कांग्रेस नै भएकाले फेरि पनि मिलेर यो चुनौतीलाई सामना गर्नुपर्छ ।’ कांग्रेसले जित्दा मात्र युवाहरूको भविष्य सुनिश्चित हुने भएकाले पनि अब युवाहरू कांग्रेसलाई जिताउन लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले कांग्रेसमा भोलिका नेता तरुण दलका युवा र विद्यार्थी भएको भन्दै ‘युथ फोर्स’ को जस्तो तागत देखाउन आग्रह गरे । ‘नेविसंघ र युवा पुस्तालाई भोलिको नेपाल बनाउने जिम्मेवारी आउँदै छ । त्यसैले अब नेविसंघले ‘युथफोर्स’ को तागत देखाउने बेलाआएको छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तपाइको मत