६ जेठ ०७६, काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा तीन विद्येयक पेश भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बैठकमा ‘औद्योगिक व्यवसाय विद्येयक, २०७५’ पेश गरेका हुन् ।
मन्त्री यादवले विधेयक पेश गर्दै उच्च आर्थिक वृद्धिदर हासिल गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नुपर्ने र वैदेशिक लगानी आकर्षित गर्नका लागि उक्त विद्येयक आवश्यक रहेकाले सदनमा पेश गरिएको जानकारी दिए ।
मन्त्री यादवले सदनमा पेश गरेको विद्येयकका सम्बन्धमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।
त्यस्तै, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बैठकमा वन, वातावरण संरक्षण र भूमि सम्बन्धी आठौँ संशोधन विद्येयक, २०७५ पेश गरेका छन् ।
‘वन विद्येयक, २०७५’ र ‘वातावरण संरक्षण विद्येयक, २०७५’ एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्धी आठौँ संशोधन विद्येयक, २०७५’ सदनमा पेश गरिन् ।
विद्येयक प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनका चुनौती सामना गर्न, प्रदूषणबाट क्षतिपूर्ति भराउन विद्येयक मस्यौदा गरी ल्याइएको जानकारी दिए ।
विद्येयकमाथि विरोधको सूचना प्रस्तुत गर्दै सांसद सुवालले विसं २०७२ मै काठमाडौँबाट औद्यागिक क्षेत्र स्थानान्तरण गर्ने भनी बजेट वक्तव्यमा ल्याए पनि अझै कार्यान्वयनमा नआएकाले वातावरण प्रदूषण हुँदै गएको बताए ।औद्योगिक क्षेत्रको अनुगमन सघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारमध्ये क कसले कुन कुन गर्ने भन्ने सूचीको व्यवस्था विद्येयकमै गरिनुपर्ने बताए ।
भूमिसम्बन्धी विद्येयकमा विरोधको सूचना प्रस्तुत गर्दै सांसद एकवाल मियाँले १३ लाख हेक्टर जग्गा अतिक्रमण भएको बताए । उनले सुकुम्वासी र अव्यवस्थित बसोवास गर्नेलाई व्यवस्थित गर्न पनि माग गरे । विद्येयकमाथि सांसदद्वय सुवाल र मियाँले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो ।
यसैगरी गृहमन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजना विधेयक, २०७५’ पेश गरेका छन् । नेपालको संविधानको धारा ३०२ को उपधारा दुई अनुसार सदन समक्ष उनले सो विद्येयक पेश गरेका हुन् ।
गृहमन्त्री थापाले संघ, प्रदेश र स्थानीय तहमा प्रहरी समायोजना गर्नुपर्ने भएकाले सो विद्येयक आवश्यक रहेको सदनलाई जानकारी गराए ।














