२८ भदौ ०७४, राजविराज । असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ।
असोज २ हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सदरमुकाम राजविराजसहित मुख्य सडक तथा नाका र नेपाल–भारतीय सिमाना अन्तर्गत विभिन्न ठाउँमा चेकजाँच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
त्यस्तै, सम्बन्धित मतदान केन्द्रमा कुनै घटना हुन नदिनको लागि विशेष तालीम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । मतदान केन्द्रमा लागुऔषध र विस्फोटक पदार्थको खोजी गर्ने विशेष तालीम प्राप्त जर्मन शेफर्ड नामक कुकुरसमेत परिचालन गरिएको सिंहले जानकारी दिए ।
निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न गराउनका लागि सप्तरी जिल्लामा करिब चारहजार नेपाल प्रहरी र दुईहजार सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।
सप्तरी जिल्लामा १८ वटै स्थानीय तहमा करिब २९५ वटा मतदानस्थल रहेका छन् जसमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील रहेको बताइएको छ । सप्तरीमा तीनलाख ३१ हजार ७९ मतदाता रहेकोमा एकलाख ७० हजार ८८८ पुरुष र एक लाख ६० हजार ७७० महिला तथा २१ जना तेस्रोलिंगी रहेका छन् ।