१७ चैत ०७५, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक १० घण्टा बन्द हुँदैछ ।
२१ घण्टासम्म खोलेर सेवा दिइँदै आएको विमानस्थल अब ३ महिनासम्म १४ घण्टा मात्रै सञ्चालनमा आउनेछ । विहान ८ बजेदेखि राति १० बजेसम्म मात्रै विमानस्थल खुला हुनेछ ।
सन् १९७५ ताका निर्माण गरिएको विमानस्थलको धावनमार्गको पिच त्यसपछि पहिलोपटक पुरै फालेर नयाँ फेर्न लागिएको हो । झण्डै ४ दशकभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर मात्रै काम चलाइँदै आएकोमा पूर्ण रुपमा नयाँ कालोपत्रे गर्ने गरी काम थाल्न लागिएको हो ।
चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले यो कामको जिम्मेवारी पाएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन(वेको स्तरोन्नति काम सुरु गर्दैछ ।